पत्थर:
साँझको बेला, उसका आँखामा उत्साह देखिन्थ्यो,
मनभरि हर्ष र गौरव झल्किन्थ्यो।
ऊ खोजी–खोजी पत्थर घर ल्याउँथ्यो,
जुन पत्थरका लागि, उसले सारा दिन बिताउँथ्यो।
दाँतको बीचमा च्यापिएको, एउटा सानो पत्थर हुन्थ्यो,
तर आँखामा भने केही राम्रो गरेको आत्मविश्वास देखिन्थ्यो।
उसको मालिकका लागि त्यो केवल एउटा पत्थर हुन्थ्यो,
तर उसको लागि दिनभरको तपस्या हुन्थ्यो।
ऊ मानव थियो— उसका लागि त्यो सानो ढुङ्गा मात्र थियो।
ऊ आत्मा थियो— उसका लागि पत्थरभित्र पनि प्रेम देखिन्थ्यो।
मानवभित्र विवेक र ज्ञान थियो,
तर त्यो आत्माभित्र केवल मायाको तृष्णा थियो।

